भोटेकोशी–त्रिशूली बाढी प्रभावित र उद्धार टोलीका लागि संघद्वारा सुरक्षा सामग्री हस्तान्तरण

भोटेकोशी–त्रिशूली बाढी प्रभावित र उद्धार टोलीका लागि संघद्वारा सुरक्षा सामग्री हस्तान्तरण

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका सुरक्षाकर्मी र पीडित समुदायको सहायतार्थ मोरङ उद्योग व्यापार संघले अत्यावश्यक सुरक्षा तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।

संघको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित एक कार्यक्रमका बीच मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षकलाई औपचारिक पत्रसहित ४०० जोर खुला ह्याण्ड ग्लोब्स र १६ कार्टुन (३८४ जोर) सेफेक्स गम्बुट हस्तान्तरण गर्नु भएको थियो । सामग्री हस्तान्तरण अवसरमा उच्च प्रहरी अधिकृतहरुको साथै संघका उपाध्यक्ष विकास कुमार वेगवानी, महासचिव संजय कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईको समेत उपस्थिति रहेको थियो ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीका कारण रसुवाको टिमुरे, धुन्चे, बेत्रावती हुँदै नुवाकोट तथा धादिङका विभिन्न तटीय क्षेत्रहरुमा सडक, पुल, भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुग्नुका साथै गम्भीर मानवीय संकट उत्पन्न भएको थियो । यस्तो विषम परिस्थिति र प्राकृतिक विपद्को घडीमा नेपाल प्रहरी तथा सुरक्षा निकायले देखाएको अग्रपंक्तिको उपस्थिति, खोज तथा उद्धार कार्यमा प्रदर्शित साहसिक सक्रियता र प्रभावकारी व्यवस्थापकीय भूमिकाको मोरङ उद्योग व्यापार संघले उच्च प्रशंसा गरेको छ ।

हिलो, ढुङ्गा र भग्नावशेषयुक्त जोखिमपूर्ण स्थानमा खटिने उद्धारकर्मी र बाढीपीडित नागरिकहरुको स्वास्थ्य तथा व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी उपलब्ध गराइएका यी सुरक्षा सामग्रीहरुले उद्धार कार्यलाई थप सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ । निजी क्षेत्रको अग्रणी संस्थाको रुपमा मोरङ उद्योग व्यापार संघले विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यहरुमा सुरक्षा निकायसँग सदैव हातेमालो गर्दै सहकार्य जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

उक्त सामग्री ग्रहण गर्दै कोशी प्रदेश प्रहरी प्रमुखले निजी क्षेत्रबाट प्राप्त सददयता र सामाजिक उत्तरदायित्वको सराहना गर्दै हस्तान्तरित सुरक्षा सामग्रीहरु तत्काल आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा परिचालन तथा वितरण गरिने जानकारी दिनु भएको थियो ।

२०८३ भाद्र २० गते, शनिबार