संघमा सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट
मिति २०८२ श्रावण ९ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघले सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष, पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुलाई स्वागत गरी भेटघाट गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठ सहित नवनिर्वाचित कार्यसमितिको टोलीलाई संघमा स्वागत गर्नु भई वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै, सो क्रममा अध्यक्ष राठीले मुलुकको अर्थतन्त्रको विकासका लागि दुवै संघको अगुवाईमा मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत रहेका औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरुको हकहित, संरक्षण एवं सम्वद्र्धनका मुद्दाहरुलाई संयुक्त रुपमा पहल गर्नु पर्ने बताउनु भएको थियो ।
सोही क्रममा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा औद्योगिक विकासका परियोजनाहरु सुस्त रहेकाले युवाहरु विदेश पलायन भइरहेको बताउँदे युवाहरुलाई स्वदेश फर्काउन र जनतालाई आर्थिक रुपमा सक्षम बनाउन राज्यले विकासका परियोजनाहरु अघि बढाउन आवश्यक रहेको औंल्याउनु भयो र सोका लागि सबै उद्योग वाणिज्य संघहरुले संयुक्त पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले दुवै संघको विगत देखिको पारस्परिक सम्बन्धलाई आगामी दिनमा अझै प्रगाढ बनाउनु पर्ने बताउनुका साथै मोरङ उद्योग व्यापार संघले भारतीय राजदूतावाससँगको सहकार्यमा समय समयमा मोरङ सुनसरी आर्थिक कोरिडोरमा कार्यरत भारतीय कामदारहरुलाई दुतावासमा दर्ता गराउने कार्य गरिरहेकोमा सो कार्यका लागि सुनसरी उद्योग वाणिज्य संघलाई पनि सहकार्य गर्न आग्रह गर्नु भएको थियो । साथै, नेपाल सरकारको एम.आर.पी. सम्बन्धी हालको व्यवस्थाका लागि पनि दुवै संघले संयुक्त पहल गर्नु पर्ने बताउनु भएको थियो ।
भेटघाटका क्रममा सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले राज्य प्रति उद्योग व्यवसायको योगदान बारे उल्लेख गर्नुका साथै छिमेकी राज्य भारतले औद्योगिक क्षेत्रहरुका लागि विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याई सफलता प्राप्त गरेको उदाहरण दिँदै नेपालले पनि औद्योगिक क्षेत्रको विकास एवं उद्योगी÷व्यवसायीलाई प्रोत्साहित गर्ने खालका योजनाहरु अवलम्बन गर्नु पर्ने बताउनु भएको थियो ।
साथै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले मुलुककै जेठो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघलाई आफूहरुले अभिभावकको रुपमा हेर्ने गरेको तथा राज्यले समेत यस संघको आवाजलाई गम्भिरतापूर्वक लिने गरेको बताउनु भई मोरङ सुनसरी आर्थिक कोरिडोरका उद्योगी÷व्यवसायीहरुका समस्याहरु समाधानार्थ संघले चाल्ने गरेका कदमहरुमा सदैव आफ्नो ऐक्यवद्धता रहने बताउनु भएको थियो ।
संघका महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा दुवै संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यम समिति सदस्यहरु, युवा उद्यम समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
२०८२ श्रावण ९ गते, शुक्रबार