मोरङ उद्योग व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघबीच भेटघाटः  निजी क्षेत्रको हकहित र सहकार्यमा जोड

मोरङ उद्योग व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघबीच भेटघाटः निजी क्षेत्रको हकहित र सहकार्यमा जोड

मिति २०८३ जेठ १४ गते, बिहीबार, मोरङ उद्योग व्यापार संघले बुटवल उद्योग वाणिज्य संघको टोलीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा आज संघमा आएको टोलीलाई संघले का.वा. अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी स्वागत तथा भेटघाट गरेको थियो । संघका महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रममा दुवै संघ बीच आपसी सहकार्य, निजी क्षेत्रहरुका साझा चुनौती र संघका पैरवीहरुका विषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै संघका का.वा. अध्यक्ष अनिल कुमार साहले मोरङ उद्योग व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघ दुवै नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको ऐतिहासिक विरासत स्मरण गर्दै आगामी दिनमा समेत दुई संस्थाबीचको समन्वय र द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुनु पर्ने बताउनु भएको थियो । साथै, का.वा. अध्यक्ष साहले दुवै संघ सीमावर्ती क्षेत्रमा अवस्थित रहेकाले सरकार वा महासंघ भन्दा पहिले नै आफ्ना संघहरुलाई उद्योगी–व्यवसायीहरुका वास्तविक समस्याहरु बारे अवगत हुने भएकाले आफ्ना संघहरुको आवाजलाई सरकार र सम्बन्धित निकायहरुले समयमै गम्भीरतापूर्वक लिनु पर्ने बताउनु भएको थियो ।

सोही क्रममा का.वा. अध्यक्ष साहले स्थापनाकालदेखि हालसम्म संघले निजी क्षेत्रका उद्योग–व्यवसायको हकहित, संरक्षण एवं विकासार्थ आर्थिक क्षेत्र, पूर्वाधार र सामाजिक विकासमा पु¥याएको ऐतिहासिक योगदानहरु बारे जानकारी गराउनु भएको थियो । संघले मुलुकको नीतिगत सुधारमा नेतृत्वदायी भूमिका, पैरवी, बैंक व्याजदर र लोडसेडिङ न्यूनीकरण र उद्योग–व्यवसाय क्षेत्रका लागि आधुनिक एवं प्राविधिक तालिमहरु प्रदान गर्नुका साथै संघको अगुवाइमा विराटनगर–घिनाघाट सडक, विमानस्थल र क्याम्पसको मुख्य प्रवेशद्वार, सहिद रंगशालामा भवन, पूर्वाञ्चल विश्वविद्यालय र फाउन्टेन इको पार्क निर्माण भएको जानकारी दिनु भएको थियो । साथै, पूर्वी नेपाललाई जोड्न ४ लेन सडक र मीरगंज पुल निर्माणमा संघले नेतृत्वदायी भूमिका खेलेको बताउँदै उहाँले कोशी अस्पतालमा प्रसूति गृह र कोभिड महामारीमा मुलुकभरी अक्सिजन, खोप र औषधि वितरण गर्दै पूर्वी नेपालकै पहिलो १०० शैयाको अत्याधुनिक कोभिड अस्पताल स्थापना गरेको उल्लेख गर्नु भएको थियो । त्यसका अलावा संघले विगत ६२ वर्षदेखि निःशुल्क होमियोप्याथिक औषधालय संचालन गर्नुका साथै, वातावरणीय प्रयोगशाला संचालन, दैवी प्रकोपहरुमा राहत वितरण, जेनजी आन्दोलनले ध्वस्त सरकारी निकायहरुलाई कार्यालय उपकरण, सवारी साधन लगायतमा सहयोग गर्दै आएको बताउनु भएको थियो । संघका सक्रीयता तथा कार्य प्रगतिहरु संक्षिप्त रुपमा प्रस्तुत गर्दै उहाँले बुटवल उद्योग वाणिज्य संघको टोलीलाई आगामी भ्रमणहरु समेत सहज, सुमधुर र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष श्री अनिल सारडाले जि.आई. वायर उद्योगलाई धरासायी बनाउने सरकारको त्रुटिपूर्ण नीति संशोधन, उच्च बैंक ब्याजदरलाई एकल अंकमा कायम तथा लोडसेडिङ न्यूनिकरणका लागि संघले देशव्यापी सशक्त आन्दोलनको नेतृत्व गरेको स्मरण गर्नु भएको थियो । त्यसैगरी, उद्योग उपाध्यक्ष श्री विकास कुमार बेगवानीले लाखौँ उत्पादनहरु मध्ये कुनै एकमा त्रुटी देखिँदा, सोही विषयलाई लिएर समग्र उद्योगकै मान–मर्यादा र अस्तित्वमाथि प्रश्न उठाउने नियत र प्रवृत्ति बन्द हुनुपर्नेमा जोड दिनु भएको थियो । साथै, कार्यक्रममा उपस्थित दुवै संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति संयोजकहरुले आ–आफ्ना अनुभव र औद्योगिक क्षेत्रका समसामयिक मुद्दाहरुमाथि धारणा प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मोरङ उद्योग व्यापार संघले देखाएको न्यानो आतिथ्यता र सहभाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै संघको ऐतिहासिक र अनुकरणीय कार्यहरुको प्रशंसा गर्नु भएको थियो । सो क्रममा उहाँले दुवै संघ बीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन उक्त भेटघाट कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै फलदायी छलफल र आतिथ्यताका लागि बुटवल उद्योग वाणिज्य संघका तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा दुवै संघका अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति संयोजकहरु र सदस्यहरु, आमन्त्रित सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।