2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

आज मिति २०७८ कार्तिक ९ गते, मंगलबार मोरंग व्यापार संघले विराटनगरको हाटखोला स्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र मार्फत संघका अध्यक्ष श्री मून्दडाज्यूले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको नाजुक अवस्था प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत रहेको कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रमा संचालित सयौँ उद्योग, कल–कारखानाहरु तथा मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर शहर र विराटनगर भन्सार नाकासँग जोड्न तथा आवागमन गर्न सो पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र एक मात्र विकल्पको रुपमा रहेको बताउनु भई लामो समय देखि सामान्य जिर्णोद्वार मात्र गरिँदै आएको उक्त पुल हालको भिषण बाढीका कारण थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेको जानकारी गराउनु भएको थियो ।

साथै, अध्यक्ष श्री मून्दडाज्यूले यस कोरिडोरका आर्थिक क्रियाकलापहरु मध्ये सो क्षेत्रमा औद्योगिक/व्यवसायिक गतिविधिहरु र मालवाहक सवारी साधानहरुको आवागमन चाप अत्याधिक हुने गरेको जनाउँदै हालको जिर्ण अवस्थाको सो पुलको समयमै जिर्णोद्वार नगरिए निकट भविष्यमै पुल क्षतिग्रस्त हुन गई जनधनको ठूलो क्षति हुन सक्ने, सो क्षेत्रसँगको मार्ग विच्छेद भई सयौँ औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरु र स्थानीय बजारहरुको आर्थिक गतिविधि ठप्प हुने, हजारौँले रोजगारी गुमाउने आदि विभिन्न भयावह स्थिति श्रृजना हुने तर्फ सचेत गराउनु भई तत्कालै सो पुलको जिर्णोद्वार तथा क्षमता विस्तारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने जोड दिँदै सोका लागि सम्बन्धित निकायहरुमा समेत यथाशिघ्र पहल गर्न अनुरोध सहितको ज्ञापन पत्र र पुलको वर्तमान अवस्थाको तस्वीर संग्रह हस्तान्तरण गर्नु भएको थियो ।

संघका अध्यक्ष श्री मून्दडाज्यू सहित उद्योग उपाध्यक्ष श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू र प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यूको सहभागिता रहेको सो टोलीको ज्ञापन पत्र बुझ्ने क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी सहित सहायक प्रमुख जिल्ला अधिकारीद्वय श्री सरद कुमार पोखरेलज्यू र श्री महेशराज तिम्सिनाज्यूको समेत उपस्थिति रहेको थियो ।

त्यसका साथै, अध्यक्ष श्री मून्दडाज्यूले शहरी विकास कार्यालय, मोरङका कार्यालय प्रमुख श्री मिलन आचार्यज्यूलाई प्रत्यक्ष भेट गरी पुल जिर्णोद्वारका लागि पत्र बुझाउनु भएको छ भने त्यस अघि संघले काठमाडौँ स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेनुकुमारी यादवज्यू, शहरी विकास मन्त्री माननीय रामकुमारी झाक्रीज्यू, सडक विभागका महानिर्देशक श्री ई. अर्जुन जंग थापाज्यू, प्रदेश नं. १का भौतिक पूर्वाधार विकास मन्त्रीज्यू, सडक डिभिजन कार्यालय, विराटनगरका प्रमुखज्यू लगायतलाई समेत पुलको जिर्णोद्वारका कार्य तत्कालै थालनी गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।

२०७८ कार्तिक ९ गते, मंगलबार